तेस्रो सर्वाधिक मतसहित इन्द्रबहादुर बानियाँ कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको निर्वाचनमा पूर्वमुख्यमन्त्री एवम् बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित विजयी भएका छन् । खुलातर्फ निर्वाचित हुने कुल ४५ जना केन्द्रीय सदस्यमध्ये बानियाँले तेस्रो सर्वाधिक मत प्राप्त गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

कांग्रेस मकवानपुरको पूर्वसभापति, बागमती प्रदेशको संस्थापक सभापति तथा प्रदेशको पूर्वमुख्यमन्त्रीको रूपमा सफल भूमिका निर्वाह गरिसकेका बानियाँले महाधिवेशन प्रतिनिधिहरूले दिएको विश्वासलाई पार्टी रूपान्तरण र सुदृढीकरणको जिम्मेवारीका रूपमा लिएको बताएका छन् । विजयपश्चात् प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसलाई अझ बलियो, गतिशील र एकताबद्ध राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेता बानियाँले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई जनमुखी, न्यायमुखी, आयमुखी, विकासमुखी, गरिबमुखी र गाउँमुखी बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । हेटौँडा–१८ हर्नामाडी स्थायी घर भएका बानियाँ वि.सं. २०४४ सालदेखि नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल हुँदै निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका निष्ठावान् नेता हुन् ।

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँ बागमती प्रदेशसभामा दुई पटक निर्वाचित भएका थिए । बागमती प्रदेशको मुख्यमन्त्री हुँदा उनले प्रशासनिक खर्च कटौती गर्न मन्त्रालयको सङ्ख्या घटाउने तथा विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति दिने जस्ता महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयन गरेका थिए ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा