काठमाडौँ । मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज (शुक्रबार) देशभरको मौसममा साधारणतया बदली भई देशका अधिकांश भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा र कोशी तथा बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। यस्तै, तराईतर्फ लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भाग तथा बागमतीका पहाडी इलाकामा भारी वर्षाको समेत सम्भावना छ।
त्यसै गरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुनेछ भने तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। लगातारको वर्षाका कारण नदीहरूमा जलस्तर बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सजगता अपनाउन अपिल गरिएको छ।




