आज तीन संसदीय समितिको बैठक बस्दै: कैदीबन्दीको मानवअधिकारदेखि परराष्ट्र मामिलासम्मका कार्यसूची तय

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीनवटा महत्त्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकहरू विभिन्न कार्यसूचीसहित तय गरिएका हुन्।

जसअनुसार बिहान साढे १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आह्वान गरिएको छ। उक्त बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ उपर छलफल र सुझाव सङ्कलन गरिनेछ। साथै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी उपसमितिबाट पेस भएको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ।

यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मुलुकमा मानवअधिकारको वर्तमान अवस्था र राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनहरूको कार्यान्वयनको अवस्थाबारे विस्तृत समीक्षा हुनेछ। उता दिउँसो साढे २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने तय भएको छ, जहाँ परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयहरूमा विज्ञहरूसँग आवश्यक छलफल र परामर्श गरिनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा