काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। सभापति रवि लामिछानेको उपस्थितिमा पार्टीले क्लबको घोषणा गरेको हो।
क्लब घोषणासँगै रास्वपाले पहिलो चरणमा ४६० गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, तीन हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्यका लागि मात्र आवेदन खुला गरेको छ। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा वडाध्यक्षहरूको हकमा भने दोस्रो चरणमा आवेदन खुलाइने जनाइएको छ।
पार्टीको उम्मेदवार छनोट एप आधिकारिक रूपमा खुला गर्दै सभापति रवि लामिछानेले पावर, पहुँच र पैसाको भरमा उम्मेदवार बन्न खोज्नेको प्रयास खारेज भएको बताएका छन्। कोठामा बसेर बिनाआधार आफ्नो मर्जीले उम्मेदवार घोषणा गर्ने वा टिकट बाँड्ने सबै कार्यहरू खारेज भएको उनले स्पष्ट पारे।
साथै, सभापति लामिछानेले महाधिवेशनपछि समायोजनको काम सकिएकाले पार्टीभित्र अब कुनै गुट–उपगुट नचल्ने दाबी गरे। “अब एउटा रास्वपा र एउटा नेतृत्व छ, पार्टीभित्र गुटबन्दी गरेर कसैले केही पाउने छैन,” उनले भने।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले स्थानीय तहमा ठूलो संख्यामा उम्मेदवार रहने भएकाले व्यवस्थापन सहज बनाउन दुई चरणमा उम्मेदवारी आह्वान गरिएको जानकारी दिएका छन्।





