मौसम अपडेट: आज पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना, मधेश र कोशीको तराईमा हावाहुरीको चेतावनी

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पाँचवटा प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी पहाडी भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

त्यसैगरी आज राति पनि देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। रातिको समयमा हिमाली भू-भागका थोरै स्थान र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा