काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णालीको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भेगका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यसका साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा कोशी प्रदेशको पहाडी र तराई क्षेत्र तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





