काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गतेको विनाशकारी बाढी–पहिरोबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आइतबार केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरेका छन्।
केन्द्रीय नेताहरूसहित गरिएको उक्त संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको भौतिक क्षति, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्जाल, अस्थायी टेन्ट तथा ग्यास–विद्युत् आपूर्तिको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।
संवादका क्रममा गोसाईंकुण्ड, आमाछोदिङमो, कालिका, उत्तरगया, बेलकोटगढी र गजुरी गाउँपालिकाका प्रमुखहरूले अवरुद्ध सडक सञ्चालन, उद्धार सामाग्री, खाद्यान्न, विद्युत् र थप सुरक्षाकर्मी परिचालन गर्न माग गरेका थिए। पालिका प्रमुखहरूका समस्या सुनिसकेपछि सभापति लामिछानेले समस्या समाधानका लागि सम्बन्धित मन्त्रीहरू र नेपाल सरकारका निकायहरूसँग तत्कालै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।




