काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकहरूको खोजी, उद्धार र राहत वितरण कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सन्दीप रानाले भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका मात्रै २५५ जना नागरिक अझै सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यमा तदारुकता देखाउन आग्रह गरे। विपद्को सामना गर्न प्रतिपक्षी दल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै उनले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दक्ष जनशक्तिको सहयोग लिएर भए पनि सुरुङ र नदी क्षेत्रमा उद्धार कार्यलाई नतिजामुखी बनाउन माग गरे।
यस्तै, सांसद मनमाया विश्वकर्माले खोजी कार्यलाई द्रुत गतिमा अघि बढाउँदै भविष्यमा आइपर्ने सम्भावित प्राकृतिक विपद्को पूर्वतयारी तथा दीर्घकालीन रणनीति निर्माणमा जुट्न सरकारको ध्यानाकर्षण गराइन्।





