काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका लागि जाने तयारी गरेका छन्। पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को घडीमा पार्टीको शीर्ष नेतृत्व प्रत्यक्ष रूपमा फिल्डमा देखिनुपर्ने सुझाव दिएपछि प्रचण्ड र नेपाल प्रभावित क्षेत्र जाने भएका हुन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका नदी तटीय क्षेत्रहरूमा ठुलो जनधनको भौतिक क्षति पुर्याएको थियो। विपद् लगत्तै नेकपाले बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरी नेताहरूलाई परिचालन गरेको थियो। प्रभावित क्षेत्रको अवस्था बुझेर फर्किएका टोलीले स्थानीय नागरिकका गुनासा, आवश्यकता र पीडा सम्बोधन गर्न शीर्ष नेतृत्वको उपस्थितिलाई अपरिहार्य ठानेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसहित अन्य प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू प्रभावित क्षेत्रमा पुगिसकेको सन्दर्भमा पार्टीको तर्फबाट प्रभावकारी राहत, उद्धार र दिगो पुनर्निर्माणको दबाब सिर्जना गर्न स्थलगत भ्रमण तय गरिएको बताइएको छ। संयोजक प्रचण्ड र सहसंयोजक नेपालले प्रभावित क्षेत्रमा पुगेर पीडितहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने तथा स्थानीय प्रशासनसँग राहत र पुनःस्थापनाको योजनाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।




