काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि आपूर्ति व्यवस्था सहज बनाउन पछिल्ला तीन दिनमा वैकल्पिक मार्ग प्रयोग गरी ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ उपत्यका भित्र्याइएको छ। गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर खण्ड अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ वटा ग्यास कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा सञ्चालित उद्योगहरूबाट कुल ८७ हजार ८७७ वटा सिलिन्डर काठमाडौँ ल्याएका हुन्। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिन्डर उपत्यका भित्रिएका छन्।
राजमार्ग अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिलाई निरन्तरता दिएको जनाएको छ। उपत्यकामा ग्यासको अभाव हुन नदिन तथा आपूर्ति व्यवस्थालाई थप चुस्त बनाउन निगमले सार्वजनिक बिदाका दिनमा समेत ग्यास उद्योगहरूलाई सिलिन्डर पुनः भर्ने र ढुवानी कार्य नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।





