काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध सडक सञ्जाल तत्काल पुनः सञ्चालन गर्न भारत सरकारले नेपाललाई ७० मिटर लम्बाइका तीनवटा मोड्युलर (बेलिब्रिज) पुल सहयोग गरेको छ। शनिबार हेटौँडास्थित सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमबिच उक्त पुलका सामग्रीहरू नेपाल सरकारलाई विधिवत् हस्तान्तरण गरिएको हो।
कार्यक्रममा भारतीय राजदूतावासका अधिकारीले सडक डिभिजन हेटौँडालाई पुलका सामग्रीहरू हस्तान्तरण गरेका थिए। सो अवसरमा मकवानपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। भारतीय पक्षले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुल निर्माणका लागि आवश्यक बाँकी पार्टपुर्जा तथा संरचनाहरू पनि आगामी केही दिनभित्रै नेपाल आइपुग्ने जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट तथा धादिङका विभिन्न सडक खण्ड र दर्जनौँ मोटरेबल पुल बगाउँदा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। भारतबाट प्राप्त एकतर्फी सवारी सञ्चालन हुने यी मोड्युलर पुलहरू बेत्रावती क्षेत्रलगायत बाढीबाट अति प्रभावित संवेदनशील सडक खण्डहरूमा प्राथमिकताका आधारमा जडान गरी आवतजावतलाई पुनः सुचारु गरिने जनाइएको छ।




