बाढीले क्षतिग्रस्त सडक र पुल पुनरुत्थानका लागि साढे ७३ अर्बको चुनौती: ३३ पक्की पुल र ६९ किमी सडक ध्वस्त

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको असाधारण बाढी र देशभर परेको अविरल वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुलहरूको पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध निकायहरूले तयार पारेको विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि उक्त विशाल बजेटको आवश्यकता देखिएको हो।

प्राधिकरणको प्रतिवेदनअनुसार बाढी र पहिरोले देशभरको यातायात सञ्जाललाई क्षतविक्षत बनाएको छ। विपद्का कारण देशभर करिब ६९ किलोमिटर सडक खण्ड पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको छ भने आवागमनका लागि महत्त्वपूर्ण ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्। जसमध्ये ३३ वटा पक्की मोटरेबल पुल बाढीले पूर्ण रूपमा बगाएको छ र ४ वटामा आंशिक क्षति पुगेको छ। यसबाहेक ग्रामीण तथा दुर्गम भेगका ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेकोमा ५३ वटा पूर्ण रूपमा नष्ट भएका छन्।

काठमाडौँ उपत्यकालाई जोड्ने ‘लाइफलाइन’ मानिएका पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा समेत बाढी-पहिरोले ठूलो क्षति पुर्‍याएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीको कटानले सडक बगाएपछि भित्तातर्फबाट करिब २५० मिटर नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ भने नागढुङ्गा सुरुङमार्गबाट आपत्कालीन रूपमा सवारी साधन सञ्चालन गरिएको छ। उता नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान गरी यातायात सुचारु गरिएको छ भने बेत्रावतीमा १५ दिनभित्र ७० मिटर लामो बेलिब्रिज जोड्ने तयारी छ। सडक सम्पर्क टुटेको रसुवाको विकट चिलिमे क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी तुइन जडान गर्ने कार्य भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा