काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा प्राकृतिक विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताएका छन् । हिमाली जिल्ला मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’मा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु संकट कुनै एक देशको मात्र नभई विश्वसमुदायको साझा चुनौती भएकाले अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहले आगामी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायुजन्य विपद्, भौतिक क्षति र समाधानका उपायहरूबारे विश्वमञ्चमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाल पग्लिने, हिमताल फुट्ने, मुहान सुक्ने र मौसममा आउने अनपेक्षित फेरबदलले हिमालीदेखि तराईसम्मका नागरिकको जनजीवन, कृषि प्रणाली र जैविक विविधतामा गम्भीर असर पुर्याएको सन्देशमा उल्लेख छ ।
जलवायु परिवर्तनको बहुआयामिक असरको प्रभावकारी सामना गर्न संघ, प्रदेश र स्थानीय सरकारबिच बलियो समन्वय हुनुपर्नेमा जोड दिइएको छ । घरपझोङ गाउँपालिकाद्वारा आयोजित दुईदिने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी थिइन् । देशभरका पालिका प्रमुख तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको यस सम्मेलनले जलवायु अनुकूलन र स्थानीय तहको विपद् पूर्वतयारीमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





