काठमाडौँ । मनसुनी वायुको प्रभाव कायमै रहँदा बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनेछ । तराईतर्फ मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । विशेषगरी कोशी प्रदेशको हिमाली, पहाडी र तराईका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी रातिको समयमा पनि देशभर साधारणतया बादल लाग्नेछ । राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भाग र मधेशलगायत तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । पहाडी तथा तराई क्षेत्रका नदी तटीय इलाकामा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन र दैनिक यात्रा गर्दा मौसम सम्बन्धी पूर्वसूचना लिई सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।





