जग्गाधनी पुर्जा वितरण विगतका आयोगको कामको परिणाम : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी प्रमाणपुर्जा विगतका आयोग तथा कार्यदलहरूले गरेको कामको परिणाम भएको दाबी गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५औँ स्थापना दिवस एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्याएका कामको मात्र अहिले जस लिन खोजिएको बताए ।

काठमाडौँ उपत्यकाबाहिर पुर्जा वितरण हुनुको मुख्य कारण विगतका आयोगले प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेको ठाउँबाट काम सुरु गरिनु रहेको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा सरकारले आफ्नै नयाँ पहलमा पुर्जा वितरण गरेको भ्रामक प्रचार गरिरहेको टिप्पणी गर्दै विगतको कामको निरन्तरतालाई स्वीकार गर्न सरकार हिचकिचाएको आरोप लगाए । साथै बागमती किनारबाट हटाइएका सुकुम्बासीलाई पुर्जा वितरण गरेर मात्रै वर्तमान सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको जस लिन सुहाउने उनले प्रष्ट पारे ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई राजनीतिक फाइदाको विषय बनाउन नहुनेमा जोड दिँदै महासचिव पोखरेलले वास्तविक पीडित परिवारलाई न्यायोचित रूपमा जमिनको स्वामित्व प्रदान गर्नुपर्ने बताए । यसैगरी, त्रिशूली र भोटेकोशी बाढीबाट विस्थापित बस्तीहरूको पुनर्स्थापनासँगै काठमाडौँ उपत्यकाबाट विस्थापित भएका सुकुम्बासीहरूको उचित व्यवस्थापनलाई पनि राष्ट्रिय पुनर्निर्माणको अभिन्न अङ्गका रूपमा प्राथमिकता दिनुपर्ने उनको माग छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा