काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। श्रम तथा रोजगार कार्यालय, जनकपुरधामद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा ८० प्रतिशतभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको अवस्थालाई बदल्दै अब आन्तरिक र वैदेशिक दुवै क्षेत्रलाई समान प्राथमिकता दिइने बताए।
मन्त्री यादवले चालु आर्थिक वर्षभित्रै ‘जब म्याचिङ’ प्रणालीमार्फत रोजगारदाता र रोजगारी खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने सरकारी लक्ष्य रहेको घोषणा गरे। उक्त लक्ष्य हासिल गर्न सरकारले १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रमहरू अघि बढाउन लागेको जानकारी दिए। उनका अनुसार ती कार्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ग्रिन जब्स, आधुनिक कृषि, डिजिटल रोजगारी, मौसमी काम तथा घरेलु एवं केयरगिभरसम्बन्धी क्षेत्रहरू समावेश गरिएका छन्।
यस्तै, श्रम बजारलाई चलायमान बनाउन आगामी असोज दोस्रो सातादेखि ‘सीप तथा रोजगार मेला’ आयोजना गर्न लागिएको पनि मन्त्री यादवले बताए। उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका दक्ष तथा अर्धदक्ष श्रमिकहरूबीच प्रत्यक्ष भेटघाट गराई तत्काल रोजगारीको अवसर सुनिश्चित गरिने उनको भनाइ छ।





