बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा लिएर बाहिरिनुपर्छ : महामन्त्री गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नराखी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले लामो समयदेखि एउटै नेतृत्व र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा निराशा छाएको उल्लेख गर्दै अब पार्टी र देश बदल्ने सङ्कल्प गर्नुपर्ने बताए। उनले रसुवाको बाढीपहिरोका कारण उत्पन्न मानवीय पीडा र मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संविधानको परिधिभεκ रहेर महाधिवेशनमा उपस्थित हुनुपरेको स्पष्ट पारे। राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै उनले भदौ २३ र २४ को घटनालाई समाजको अत्यधिक राजनीतिकरण र जनअसन्तुष्टिको परिणामका रूपमा व्याख्या गरे।

आगामी दिनमा कांग्रेसले केवल राजनीतिक उपलब्धिको चर्चा गरेर मात्र नपुग्ने भन्दै थापाले ३५ वर्षको राजनीतिक सङ्घर्षपछि पनि गाउँ रित्तिनु र युवा पलायन रोक्न नसक्नुको कारण खोज्नुपर्ने बताए। लोकतन्त्र र जनताको दैनिक जीवनबीचको सम्बन्ध जोड्ने मुख्य पुलको काम कांग्रेसले गर्नुपर्नेमा जोड दिँदै उनले सिद्धान्तसँग कहिल्यै सम्झौता नगर्ने तर मूल्य र मान्यतामा आधारित राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। निजी क्षेत्रलाई आर्थिक विकासको साझदारका रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्ने बताउँदै उनले खुलामञ्च र संसद्लाई जनताका आवाज सुन्ने खुला थलो बनाउनुपर्नेमा जोड दिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा