काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ। आइतबार क्यानडालाई २४ रनले पराजित गरेपछि नेपालको शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना कायम छ। तर, एउटा जितले मात्र नेपालको स्थान सुरक्षित हुने अवस्था छैन।
कप्तान रोहितकुमार पौडेलको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले क्यानडालाई हराएको नेपाल उच्च मनोबलका साथ ओमानविरुद्ध मैदानमा उत्रनेछ। हाल नेपाल ३३ खेलबाट २६ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ।





