काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलहरूमा अन्तर्राष्ट्रिय स्तरको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सबै खेलहरूमा आधुनिक प्रविधि डीआरएस लागू गर्ने निर्णय भएको जानकारी दिएको हो ।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ (२०२६) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने एनपीएलमा डीआरएस प्रविधि प्रयोग गर्ने भएसँगै क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाको समयमा समेत आवश्यक हेरफेर गरेको छ ।
संशोधित खेल तालिकाअनुसार अब एकै दिन दुईवटा खेल सञ्चालन हुने दिन पहिलो खेल मध्याह्न १२ बजेर ३० मिनेटमा सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । त्यस्तै, दैनिक एउटा मात्र खेल हुने दिनहरूमा उक्त खेल साँझ ५ बजे नै सञ्चालन गरिने क्यानले जनाएको छ ।
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनपीएललाई थप निष्पक्ष, प्रतिस्पर्धी एवं अन्तर्राष्ट्रिय मापदण्डयुक्त बनाउन सम्पूर्ण खेलमा डीआरएस प्रविधि भित्र्याइएको उल्लेख गरिएको छ । नयाँ समय तालिका र आधुनिक प्रविधिको प्रयोगले खेलाडी तथा समर्थक दुवैलाई रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।





