काठमाडौँ । दसैँ तथा तिहार लगायतका मुख्य चाडपर्वका कारण रक्तदान कार्यक्रमहरू ठप्पप्रायः भएपछि ब्लड बैंकहरूमा रगतको चरम अभाव देखिएको छ। बिरामीका लागि आवश्यक रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई तत्काल रक्तदान गर्न विशेष अपिल गरेको छ।
चाडपर्वको लामो बिदाका कारण सरकारी तथा गैरसरकारी कार्यालय, कलेज तथा शैक्षिक संस्थाहरू बन्द हुँदा रक्तदानका नियमित क्याम्पहरू सञ्चालन हुन सकेका छैनन्। तर, देशभरका प्रमुख अस्पतालहरूमा शल्यक्रिया, दुर्घटनाका घाइते, प्रसूति सेवा तथा जटिल रोगका बिरामीहरूका लागि रगतको माग भने निरन्तर उच्च भइरहेको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सम्पूर्ण समूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात पूर्ण रूपमा रित्तिएको छ। मौज्दात सकिएपछि आपत्कालीन रूपमा उपचार गराइरहेका बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको उनले बताए।
डा. यादवले पछिल्लो तीन महिनायता रक्तदान नगरेका नियमित स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका शारीरिक रूपमा स्वस्थ युवायुवतीहरूलाई नजिकैको रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्न हार्दिक अनुरोध गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वमा घर जाने र बिदा मनाउने क्रम बढेकाले रगत संकलन प्रभावित भएको स्पष्ट पारे। उनले मानवीय सेवाको भावनासहित विभिन्न सामाजिक सङ्घसंस्था, क्लब तथा नागरिकहरूलाई तत्काल रक्तदान कार्यक्रम आयोजना गर्न र स्वयंसेवी रूपमा रक्तदानमा सहभागी हुन आग्रह गरे।
हाल नेपाल रेडक्रस सोसाइटीले देशभरका ७३ जिल्लामा रहेका १२० स्थानबाट रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत निरन्तर रगत संकलन तथा वितरण सेवा उपलब्ध गराइरहेको महामन्त्री ऋषि खनालले जानकारी दिएका छन्।
रगत अभावका कारण बिरामीलाई समस्या परेमा वा रक्तदान गर्न इच्छुक महानुभावहरूले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१-५३८८४८५, ०१-५३८८४८६ अथवा नेपाल रेडक्रसको निःशुल्क हटलाइन नम्बर ११३० मा सिधै सम्पर्क गर्न सक्नेछन्। साथै, मोबाइलको प्लेस्टोरबाट ‘NRCS BTS’ एप डाउनलोड गरी रगतको मौज्दात र सेवाबारे प्रत्यक्ष जानकारी लिन सकिने रेडक्रसले जनाएको छ।





