काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार (कात्तिक २१ गते) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिए पनि समग्र बजारमा व्यापक सकारात्मक प्रभाव देखिएको छ । परिसूचक केवल २.६४ अङ्कले बढेर २ हजार ६५५.२२ विन्दुमा बन्द हुँदा बजारका कुल १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहमा हरियाली छाएको छ ।
दिनभर कुल ३३६ कम्पनीको ३३ हजार २१५ पटकको खरिदबिक्रीमा १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार समयमा बजार परिसूचक उच्च २ हजार ६६१.४५ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २ हजार ६४७.११ विन्दुसम्म ओर्लिएको थियो । ठूला तथा बलिया कम्पनीहरूको मापक सेन्सिटिभ इन्डेक्स पनि १.१८ अङ्क (०.२४ प्रतिशत) ले बढेर ४८०.१२ विन्दुमा पुगेको छ ।
१२ उपसमूहमा बढोत्तरी, बीमा र विकास बैंक समूहमा चमक :
आज ‘अन्य’ समूह बाहेक बाँकी सबै १२ वटा क्षेत्रगत उपसमूहमा सुधार देखिएको छ । जसमध्ये सर्वाधिक कमाउनेमा निर्जीवन बीमा समूह ६१.३७ अङ्क (०.६५ प्रतिशत) र जीवन बीमा समूह ४२.३० अङ्क (०.३५ प्रतिशत) ले बढेका छन् । त्यस्तै विकास बैंक समूह १४.८० अङ्क, उत्पादन तथा प्रशोधन समूह १०.९३ अङ्क, जलविद्युत समूह ९.२६ अङ्क र लघुवित्त समूह ३.८० अङ्कले उकालो लागेका छन् । होटल तथा पर्यटन, बैंकिङ, फाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा पनि सामान्य हरियाली देखिएको छ । केवल अन्य समूह १६.८२ अङ्क (०.८८ प्रतिशत) ले घटेको छ ।
क्रेस्ट माइक्रो लाइफमा १४ प्रतिशतको उछाल :
आजको कारोबारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) का लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशत (१४७ रुपैयाँ १० पैसा) ले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ । बेनी हाइड्रोपावर ५.७८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी ३.४२ प्रतिशत (४७० रुपैयाँ), एनएमबि लघुवित्त ३.१९ प्रतिशत र चिरख्वा हाइड्रोपावरको मूल्य ३.१८ प्रतिशतले बढेको छ ।
घोराही सिमेन्टमा सर्वाधिक कारोबार तर मूल्यमा गिरावट :
आज सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा घोराही सिमेन्ट इन्डस्ट्रिज (GCIL) रह्यो । कम्पनीको २१ करोड ६३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भए पनि मूल्य भने ४.४३ प्रतिशतले घटेर प्रतिकित्ता ३८८ रुपैयाँमा झरेको छ । त्यस्तै श्वेत-गंगा हाइड्रोपावर १२ करोड ७९ लाख, रिलायन्स स्पिनिङ मिल्स ११ करोड ९३ लाख, घलेम्दी हाइड्रो १० करोड ४० लाख र सानिमा माई हाइड्रोपावरको ९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।





