एनपीएलमा कर्णाली याक्सलाई ३९ रनले हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा, डेभिड मिलरको ९३ रन खेर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ३९ रनको शानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र जोड्न सक्यो ।

कर्णालीका लागि दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरले ५५ बलमा ७ छक्का र ५ चौकासहित ९३ रनको आक्रामक अविजित इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्य ब्याटरहरूले साथ दिन नसक्दा मिलरको शानदार प्रदर्शन खेर गयो । कर्णालीका दीपक डुम्रेले १८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको कसिलो बलिङ :
सुदूरपश्चिम रोयल्सका बलरहरूले सुरुवाती ओभरदेखि नै कर्णालीका ब्याटरहरूलाई दबाबमा राखेका थिए । स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्ननायके र अविनाश बोहोराले समान १–१ विकेट हात पारे ।

सुदूरपश्चिमको सन्तुलित ब्याटिङ प्रदर्शन :
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि सैफ जेबले २४ बलमा १ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ३५ रन बनाए । त्यस्तै विनोद भण्डारीले २७ रन, ब्रान्डन म्याकमलेनले २४ रन, इशान पाण्डेले २३ रन र थरिन्दु रत्नायकेले अविजित २२ रनको योगदान दिए । कर्णालीका लागि बलिङतर्फ मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले १–१ विकेट लिए ।

यो सानदार जितसँगै सुदूरपश्चिम रोयल्स ५ खेलबाट ६ अङ्क जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित कर्णाली याक्स भने पाँचौँ स्थानमा सीमित भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा