काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्। बिहीबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भिडन्त तय गरेको हो।
सुदूरपश्चिम एनपीएलको इतिहासमा लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्न सफल भएको छ। यसअघि पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो सिजनको फाइनलमा लुम्बिनीसँग चुकेको थियो। अब लगातार दोस्रो सिजन यी दुई चिरपरिचित टोलीबिच उपाधिका लागि प्रतिष्ठाको लडाइँ हुने भएको छ।
जारी सिजनमा भने लुम्बिनी लायन्स सुदूरपश्चिममाथि पूर्ण रूपमा हाबी हुँदै आएको छ। लिग चरणको खेल र पहिलो क्वालिफायर दुवैमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो। लिग चरणमा लुम्बिनी ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेका थिए।
पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। उत्कृष्ट लयमा रहेको लुम्बिनी उपाधि रक्षा गर्ने दाउमा रहँदा लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम यस पटक इतिहास रच्दै पहिलो उपाधि चुम्ने दृढ संकल्पका साथ मैदान उत्रिनेछ।




