काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन १७.५३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज थप १९.८५ अंकले ओरालो लागेको हो।
०.७३ प्रतिशतले घटेको नेप्से परिसूचक आज २६९४.२० बिन्दुमा ओर्लिएको छ। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। आज ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर ९ अर्ब १० करोड ९४ लाख ९७ हजार रुपैयाँमा किनबेच भएको छ। जबकि, अघिल्लो कारोबार दिन १४ अर्ब ५६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
आजको काराेबारमा व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। व्यापार उपसमूह ०.५५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा बढी १.७५ प्रतिशतको गिरावट आएको छ। यस्तै, हाइड्रोपावर उपसमूह पनि १.३६ प्रतिशतले घटेको छ।
आज जम्मा ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।आजको कारोबारमा मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदा रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.३४ प्रतिशतले ओरालो लागेको छ।





