काठमाडौँ । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि निराशा छाएको छ । आइतबार गालिएको गिरावटलाई निरन्तरता दिँदै नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा झरेर बन्द भएको छ ।
परिसूचकसँगै सोमबार कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार त्यो रकम घटेर १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । आज ३२४ कम्पनीका कुल २ करोड ७६ लाख ६६ हजार ३४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो दिन ३३० कम्पनीका सेयर कारोबारमा आएका थिए ।
आजको बजारमा व्यापार समूहबाहेक अन्य सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखिएको छ, जुन २.२९ प्रतिशतले ओरालो लाग्यो । यस्तै, अन्य समूह १.९६, निर्जीवन बीमा १.४१, होटल तथा पर्यटन १.३८, विकास बैंक १.३७ र उत्पादन तथा प्रशोधन समूह १.२३ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहमा पनि १ प्रतिशतको गिरावट आएको छ ।
समग्र बजार घटे पनि सोमबार ४२ वटा कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन् । जसमध्ये खानिखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट स्तरको ९.९७ प्रतिशतले वृद्धि भएको छ भने रिडी पावरको सेयर मूल्य ९.११ प्रतिशतले बढेको छ । अर्कोतर्फ, मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ५.४० प्रतिशतले गुमाएका छन् ।




