काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको कम्युनिस्ट आन्दोलन ‘खडेरीको दुबो’ जस्तै भएको र जस्तोसुकै कठिन परिस्थितिमा पनि फेरि मौलाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७ औँ वर्ष पुगेको अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले स्थापनाकालदेखि नै धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दलनलाई चिर्दै पुनर्जीवित हुँदै आएको उल्लेख गर्नुभयो।
ज्ञवालीले विगतको वर्ष कम्युनिस्ट आन्दोलनका लागि सुखद नरहेको स्वीकार गर्दै यसैलाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको टिप्पणी गर्नुभयो। “विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउँदै छन्,” ज्ञवालीले लेख्नुभएको छ, “हाम्रा ‘फुकुयामा’हरूको भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् किनभने यो आन्दोलन कसैको इच्छाबाट नभई समाजको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ।”
नेता ज्ञवालीले वर्तमान समयमा कम्युनिस्ट आन्दोलनले खेपेको धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट आफूहरूलाई नभएको समेत स्पष्ट पार्नुभएको छ। उहाँले आजको दिनलाई निर्मम आत्मसमीक्षा, संरचनागत पुनर्संरचना र नयाँ ऊर्जाका साथ अगाडि बढ्ने सङ्कल्प गर्ने दिनका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। ७७ औँ स्थापना दिवसको सन्दर्भमा आन्दोलनलाई नयाँ जीवन दिने अभिभारा पूरा गर्न सबैलाई सङ्कल्पबद्ध हुन उहाँले आह्वान गर्नुभएको छ।





