नेप्सेमा लगातार चौथो दिनको गिरावट: १७ अङ्कले घट्यो बजार, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडाैं । नेपाली पुँजी बजारमा उल्लेख्य गिरावट आउने क्रमले साताको चौथो दिन पनि निरन्तरता पाएको छ। सेयर बजार मापक नेप्से परिसूचक आज १७.०१ अङ्कले ओरालो लागेर २७८७.१५ बिन्दुमा ओर्लिएको छ।

परिसूचकसँगै बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै कमजोर देखिएको छ। आज कुल ३४८ कम्पनीका १ करोड १९ लाख ७५ हजार ६९९ कित्ता सेयर ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँमा खरिदबिक्री भएकाे छ।

जबकि हिजो ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर ७ अर्ब ८१ करोड रुपैयाँ बराबरमा कारोबार भएका थिए।

आजको बजारमा उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) र व्यापार समूहका उपसूचकहरूमा हरियाली देखिए पनि अन्य सबै समूहहरू राताम्मे बनेका छन्। विशेष गरी जलविद्युत् समूह १.५ प्रतिशतले घट्दा होटल तथा पर्यटन १.४२, निर्जीवन बीमा १.१९ र फाइनान्स समूहको उपसूचक १.०६ प्रतिशतले ओरालो लागेका छन्।

दिनभरको कारोबारपश्चात् २१६ कम्पनीको सेयर मूल्य घटेको छ भने मात्र ४६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएन।

बजारमा गिरावट आए पनि पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै सर्वाधिक १४.९९ प्रतिशतले वृद्धि भएको छ। अर्कातर्फ, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले भने आज सबैभन्दा बढी ११.७९ प्रतिशतको नोक्सानी बेहोर्नु परेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा