स्थानीय तहमा आर्थिक बेथिति: १९ अर्ब नयाँ बेरुजु थपियो, ७ अर्बभन्दा बढी बजेट विना योजना ‘अबण्डा’ राखेर मनपरी खर्च

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था अत्यन्तै कमजोर रहेको पुष्टि गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै ७२१ वटा स्थानीय तहमा १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ नयाँ बेरुजु थपिएको छ। कुल ११ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँको लेखा परीक्षण गर्दा १.७२ प्रतिशत रकम बेरुजु देखिएको हो।

थपिएको बेरुजुमध्ये सबैभन्दा ठूलो हिस्सा १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ प्रक्रिया नपुर्याई खर्च गरिएको (नियमित गर्नुपर्ने) शीर्षकमा रहेको छ। त्यस्तै, २ अर्ब १ करोड ३३ लाख असुल गर्नुपर्ने र १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ पेस्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। यो नयाँ बेरुजुसहित अब स्थानीय तहको कुल अद्यावधिक बेरुजु २२ अर्ब ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। महालेखाका अनुसार एक स्थानीय तहको बेरुजु त १५ प्रतिशतभन्दा समेत बढी देखिएको छ।

प्रतिवेदनले स्थानीय तहले कानुनको ठाडो उल्लङ्घन गरेको गम्भीर तथ्यहरू पनि उजागर गरेको छ। २१९ वटा स्थानीय तहले ७ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बजेट विना योजना ‘अबण्डा’ राखेर आफूखुसी बाँडफाँट गरी खर्च गरेका छन्। साथै, २६८ तहले आन्तरिक लेखा परीक्षण नै नगराएको, ९० वटा तहको बैंक मौज्दात र स्रेस्ताको हिसाब नमिलेको र १७७ स्थानीय तहले काटेको १३ करोड ३० लाख राजस्व दाखिला नगरी आफैँसँग राखेको पाइएको छ। यसले स्थानीय सरकारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा