काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सरकारले घोषणा गरेको नयाँ कर नीति र बजेटका प्रावधानहरू देशव्यापी रूपमा कार्यान्वयनमा आएका छन्। यसै सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणले आजैदेखि घरायसी ग्राहकका लागि नयाँ महसुल दरसहित ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली लागू गरेको छ। प्राधिकरणले यस नयाँ व्यवस्था अनुरूप आफ्नो बिलिङ प्रणालीलाई पूर्ण रूपमा अद्यावधिक गरिसकेको जनाएको छ।
नयाँ नियमानुसार, मासिक ५० युनिटसम्म मात्र विद्युत् उपभोग गर्ने ग्राहकहरूलाई यो अतिरिक्त कर लाग्ने छैन। देशभर ५० युनिटसम्म बिजुली खपत गर्ने करिब ३० लाखभन्दा बढी ग्राहकहरू अतिरिक्त भ्याटको दायराबाट बाहिर रहनेछन्। तर, मासिक ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकहरूको हकमा भने पहिलो ५० युनिट पछिको बाँकी महसुलमा ५ प्रतिशत भ्याट अनिवार्य रूपमा थपिनेछ।
यो विद्युत् भ्याटसहित सरकारले नयाँ आर्थिक वर्षका लागि कर प्रणालीमा अन्य व्यापक फेरबदलसमेत गरेको छ। व्यक्तिगत आयकरतर्फ ठुलो राहत दिँदै यसअघिको १ प्रतिशत कर लाग्ने ५ लाख रुपैयाँको सीमालाई बढाएर वार्षिक १० लाख रुपैयाँ पुर्याइएको छ भने अधिकतम व्यक्तिगत आयकरको दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ। यसै गरी भन्सार दरलाई ११ तहबाट घटाएर ७ तहमा झारिएको छ भने ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको छ। यद्यपि, निजी शैक्षिक र स्वास्थ्य संस्थाहरूमा ३ प्रतिशत समता शुल्क, पाँचतारे होटल तथा आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क र राइड सेयरिङ सेवाहरूमा ५ प्रतिशत सेवा शुल्क थप गरिएको छ।




