काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी पहाडी तथा हिमाली भू-भागका साथै केही तराईका क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। यस अवधिमा देशका पहाडी भू-भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको उच्च सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर मौसम बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू-भागमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। राति विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न नदी तटीय र भिरालो जमिन आसपासका बासिन्दालाई महाशाखाले सचेत गराएको छ।




