काठमाडौँ । अनाथ तथा असहाय बालबालिकाको हितमा प्रयोग हुनुपर्ने नेपाल बाल सङ्गठन (बाल मन्दिर) को बहुमूल्य जग्गा र बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा ठगीको कसुरमा अभियोगपत्र दर्ता गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा सङ्गठनका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ महानगरपालिका वडा नं. ११ की सदस्य आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य रहेका छन्। प्रहरीले यी तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। यसै गरी, फरार रहेका तत्कालीन सभापतिहरू युरी कुमारी राई र भगवान शाक्य, तत्कालीन कोषाध्यक्षहरू दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारलाई समेत प्रतिवादी बनाइएको छ। मुख्य भूमिकामा देखिएकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको भने निधन भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन।
अनुसन्धान अनुसार तत्कालीन पदाधिकारीहरूले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा बिना कुनै सार्वजनिक प्रतिस्पर्धा र सूचना भाडामा दिई ७५ लाख रुपैयाँ नगदै बुझेका थिए। यसका साथै, बालबालिकाको हितका लागि स्थापित कोषबाट निजी सवारी साधन खरिद गर्ने, गाडीको किस्ता तिर्ने, व्यक्तिगत उपचार तथा किरिया खर्च जुटाउने र नियम विपरीत भत्ता असुल गर्नेजस्ता गम्भीर आर्थिक अनियमितता गरिएको पाइएको छ। उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र सीआईबीको सूक्ष्म अनुसन्धानपछि अदालतमा दायर गरिएको यस मुद्दालाई सरकारी सम्पत्ति अपचलनविरुद्धको ठुलो कदम मानिएको छ।




