नेपाली कांग्रेस अन्ततः विभाजनको डिलमा : गगन र देउवा पक्षद्वारा समानान्तर महाधिवेशनको अपिल जारी

काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्किएको आन्तरिक शक्ति सङ्घर्ष अन्ततः औपचारिक विभाजनको डिलमा पुगेको छ । पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै अपिल जारी गर्दै आ-आफ्नो समूहले घोषणा गरेको फरक-फरक मितिको महाधिवेशनमा सहभागी हुन नेता-कार्यकर्तालाई आह्वान गरेपछि कांग्रेस फुटको संघारमा पुगेको हो । दुवै पक्षले एकअर्काको महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आफ्नै कार्यतालिका अनुसार अधिवेशन सम्पन्न गर्ने कडा अडान लिएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज ३ गतेदेखि वडा तहबाट अधिवेशन सुरु गरी आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी अन्तिम तयारी थालेको छ । सभापति थापाले कुनै अलमलमा नपरी पार्टीको आधिकारिक महाधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कार्यकर्तालाई अपिल गरेका छन् । अर्कोतर्फ, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापनको कार्यतालिकालाई एकपक्षीय र विधानविपरीत भन्दै असोज १५ गतेदेखि वडा अधिवेशन थालेर मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ । डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्दै देउवा समूहले सम्पर्क कार्यालय स्थापना गरी समानान्तर गतिविधि तीव्र बनाएको छ ।

क्रियाशील सदस्यता नवीकरण र १४औँ महाधिवेशनका पदाधिकारीहरूको समायोजन लगायतका विषयमा संस्थापनले कार्यसम्पादन समितिबाट लचिलो निर्णय गरे पनि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा समूहले मुद्दा फिर्ता नगरेसम्म संवादको ढोका नखोल्ने अडान संस्थापनले लिएको छ भने देउवा पक्षले सर्वोच्च अदालतको फैसलाको पुनरवलोकन कुरिरहेको छ । दुवै समूह जिल्ला-जिल्लामा प्रतिनिधि खटाएर आ-आफ्नो महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेसँगै वार्ता र सहमतिको सम्भावना समाप्त भई कांग्रेस दुई टुक्रा हुने निश्चितप्रायः देखिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा