काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रमसँगै नेपालको राजनीतिक नक्सामा ठूलो फेरबदल देखिएको छ। स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को ‘गढ’ मानिने क्षेत्रहरूमा ऐतिहासिक विजय हासिल गर्दै नयाँ राजनीतिक मानक स्थापित गरेको छ।
रास्वपाका उम्मेदवारहरूले केवल जित मात्र हासिल गरेनन्, बरु स्थापित दलका शीर्ष र प्रभावशाली ‘हेभीवेट’ नेताहरूलाई २५ हजारदेखि ५० हजारसम्मको विशाल मतान्तरले पराजित गर्दै स्तब्ध बनाएका छन्।
रुपन्देही र मोरङमा ऐतिहासिक मतान्तर
रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा रास्वपाका डा. लेखजंग थापाले ५० हजार ३७९ को विशाल मतान्तरसहित सानदार जित दर्ता गर्नुभएको छ। उहाँले ५८,८१४ मत प्राप्त गर्दा कांग्रेसका सुशील गुरुङ मात्र ८,४३५ मतमा समेटिए। त्यस्तै, रुपन्देही–२ मा सुलभ खरेलले एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ को मतान्तरले पराजित गरी सबैलाई अचम्मित बनाउनुभएको छ।
मोरङ–६ मा रास्वपाकी रुबिना आचार्यले ५५,५१३ मत ल्याएर कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ को मतान्तरले पराजित गर्नुभएको छ। यो नतिजाले पूर्वको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ।
चितवन र मधेसमा रास्वपाको बलियो पकड
चितवन क्षेत्र नं. २ बाट रास्वपा सभापति रवि लामिछाने ३९ हजार ८३८ को मतान्तरसहित पुनः निर्वाचित हुनुभएको छ भने चितवन–३ मा सोविता गौतमले प्रधानमन्त्रीका दाबेदार मानिने रेनु दाहाललाई ३८ हजार ६६२ मतले पछाडि पार्नुभएको छ।
मधेस प्रदेशमा पनि रास्वपाको प्रभाव उत्तिकै देखिएको छ। धनुषा–३ मा मनिष झाले कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार ३३६ को अन्तरले र सर्लाही–१ मा नितिमा भण्डारी (कार्की) ले ३६ हजार ३१० को मतान्तरले जित हासिल गर्नुभएको छ। यस्तै, सर्लाही–२ मा रबिन महतोले अनुभवी नेता महिन्द्र राय यादवलाई ३३ हजार ९८९ मतले पराजित गर्नुभएको छ।
काठमाडौँ उपत्यकामा ‘क्लिन स्वीप’
काठमाडौँ उपत्यका रास्वपाका लागि सबैभन्दा सुरक्षित किल्ला प्रमाणित भएको छ। काठमाडौँका क्षेत्र नं. २, ४, ५, ६, ७, ८, ९ र १० मा रास्वपाका उम्मेदवारहरूले २० हजारभन्दा बढीको मतान्तरले जित हासिल गरेका छन्। भक्तपुर–२ मा राजीव खत्रीले एमालेका महेश बस्नेतलाई ३१ हजार ३३८ को मतान्तरले पराजित गर्दा काभ्रे–२ मा बदनकुमार भण्डारीले ३५ हजार बढीको अन्तरले जित निकाल्नुभएको छ।
हेभीवेट नेताहरूको पराजय
यो निर्वाचनमा दाङ–२ मा एमालेका शंकर पोख्रेल रास्वपाका विपिन कुमार आचार्यसँग २८ हजार २६४ मतले पराजित हुनुभएको छ। झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहसँग ४९ हजार ६१४ को ऐतिहासिक मतान्तरले पराजित हुनुभएको छ।
यस नतिजाले नेपाली राजनीतिमा अब नयाँ शक्तिको उदय मात्र नभई जनताले सुशासन र परिवर्तनका लागि स्पष्ट म्यान्डेट दिएको विश्लेषण गरिएको छ।





