विराटनगर । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा मात्रै १ लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा खसेको कूल २० लाख ८४ हजार २१९ मतमध्ये ठूलो हिस्सा बदर भएको हो।
तथ्याङ्कअनुसार, खसेको मतमध्ये १९ लाख ५३ हजार ३७२ मत मात्र सदर भएका छन्। जिल्लागत रूपमा हेर्दा मोरङ र सुनसरीका क्षेत्रहरूमा सबैभन्दा धेरै मत बदर भएको देखिएको छ। निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. ५ मा सबैभन्दा बढी १०.०६ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम झापा क्षेत्र नं. ५ मा ३.९६ प्रतिशत मत बदर भएको छ।
विशेषगरी मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मात्रै ३७ हजारभन्दा बढी मत खेर गएका छन्। मतदाताहरूले सही तरिकाले छाप लगाउन नसक्दा वा धेरै ठाउँमा छाप लगाउँदा यति ठूलो संख्यामा मत खेर गएको र यसले मतदाता शिक्षाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको विश्लेषण गरिएको छ।





