काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत फेरि एकपटक कानुनी घेरामा तानिनुभएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उहाँविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको हो। अधिवक्ता लबन न्यौपानेले बुधबार सर्वोच्च अदालतमा यो मुद्दा दर्ता गराउनुभएको हो।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा सचिव बस्नेतले न्यायाधीशहरूलाई केन्द्रित गरेर दिएको सार्वजनिक अभिव्यक्तिले न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि आँच पुर्याएको दाबी गरिएको छ। विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतले देखाएको सक्रियता र प्रक्रियालाई लिएर बस्नेतले कडा टिप्पणी गर्नुभएको थियो। सोही टिप्पणीलाई आधार मानेर न्याय सम्पादनमा अवरोध पुर्याउन खोजेको आरोप उहाँमाथि लगाइएको छ।
सर्वोच्च अदालतले यस मुद्दालाई गम्भीरतापूर्वक लिँदै आगामी चैत १ गतेका लागि पहिलो पेसी तोकेको छ। हालै सम्पन्न निर्वाचनमा भक्तपुर–२ बाट पराजित हुनुभएका बस्नेतका लागि यो कानुनी मुद्दाले थप राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।





