सौराहामा जारी ‘हात्ती तथा पर्यटन महोत्सव’ काे दोस्रो दिन आज, ३० प्रतिशत पर्यटक वृद्धि हुने अपेक्षा

चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा जारी १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सवको आज दोस्रो दिन रहेको छ।

सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

शुक्रबार आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ। हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ। महोत्सवकै अवसरमा पर्यटकलाई आकर्षित गर्न सौराहाका होटल तथा रेष्टुरेन्टहरूले खाना र आवास सेवामा विभिन्न छुटका व्यवस्था समेत गरेका छन्।

महोत्सव अवधिभर विभिन्न सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा सुरु भएको थियो ।

त्यसैगरी हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता र विविध सांस्कृतिक प्रस्तुति गरिएको छ । दोस्रो दिन मङ्गलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तरक्रिया कार्यक्रम, डुङ्गा दौड तथा थप खेलकुद प्रतियोगिता र लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।

महोत्सवको अन्तिम दिन हात्ती पूजा, हात्ती बनभोज कार्यक्रम, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन कार्यक्रमसँगै साँझ सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणसम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा