काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो। ‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ।
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न र आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ।
साथै, मन्त्रालयले नेपाली नागरिकहरूलाई आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन र इजरायल तथा इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न समेत सचेत गराएको छ।





