काठमाडौं । मध्यपूर्वमा जारी तीव्र तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिँदै गएपछि छिमेकी देश भारतमा इन्धनको भाउ लगातार बढ्न थालेको छ।
भारतमा पछिल्लो १० दिनभित्र मात्रै तीनपटक पेट्रोल र डिजेलको मूल्य बढिसकेको छ। भारतीय आयल कर्पोरेसनले मे १५ पछि लगातार इन्धनको मूल्य बढाउँदै लगेको छ, जसको प्रत्यक्ष असर अब नेपालमा पनि पर्ने निश्चित देखिएको छ।
पछिल्लोपटक थपिएको मूल्यअनुसार भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसाले बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसाले बढेर ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ।
इन्धन उत्पादन गर्ने देशहरू आफैँ द्वन्द्वमा फसेपछि विश्व बजारमा आपूर्ति प्रणाली खलबलिँदा भारतजस्ता ठूला आयातकर्ता देशहरूमा इन्धनको आन्तरिक दर महँगो बन्दै गएको हो।
भारतमा लगातार इन्धनको मूल्य बढेपछि अब नेपालमा यसको कस्तो असर पर्ला र नेपालमा पेट्रोल–डिजेलको मूल्य कति पुग्ला भन्ने चिन्ता सुरु भएको छ।
नेपाल आयल निगमले हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ। भारत सरकारले लगातार मूल्य बढाउँदै लगेकाले आगामी जुन १ तारिखमा आईओसीबाट आउने नयाँ मूल्यसूची निकै महँगो भएर आउने निश्चित छ, जसका कारण निगमले नेपालमा पनि इन्धनको मूल्य बढाउनुपर्ने दबाब सिर्जना भएको छ।
हाल नेपालमा स्वचालित मूल्य प्रणाली लागू रहेकाले भारतबाट मूल्य बढेर आउनासाथ यहाँ पनि सोही अनुपातमा भाउ बढ्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर आसपास पुग्न थालेकाले आगामी हप्ता नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य थप बढ्ने अनुमान छ।
दि मध्यपूर्वको तनाव तत्काल शान्त नभएमा आउँदा दिनहरूमा इन्धनको महँगीले सर्वसाधारणको भान्सा र यातायात क्षेत्र थप प्रभावित हुने देखिन्छ।





