काठमाडौँ । लगातारको मुसलधारे वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा व्यापक जनधनको क्षति पुर्याएको छ। शुक्रबार राति जलस्तर बढेर आएको बाढीले दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा ठूलो ध्वंस मच्चाउँदै भौतिक संरचना र नागरिकका घरहरू बगाएको हो।
बाढीको तीव्र बहावका कारण पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने गरी निर्माण भइरहेको पक्की मोटरेबल पुल पूर्ण रूपमा बगेको छ। यसैगरी, याङवरक गाउँपालिकामा पर्ने दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजना (हाइड्रोपावर) सहित आसपासका दर्जनौँ भौतिक संरचनामा बाढीले गम्भीर क्षति पुर्याएको स्थानीयले जनाएका छन्।
अविरल वर्षासँगै गएको पहिरोले याङवरक गाउँपालिका वडा नम्बर ३ र ७ को सिमानामा पर्ने लाम्वाखोला ढाँड एकरातेका स्थानीय महलाल खबास र कविन्द्र खबासको बसोबास रहेको घरसमेत बगाएर बगर बनाइदिएको छ। साँझपखदेखि सुरु भएको भीषण वर्षाका कारण मध्यपहाडी राजमार्गको च्याङथापु–थर्पु सडक खण्ड माथिबाट खसेको पहिरोले पूर्ण रूपमा ठप्प बनेको छ।
बाढी र पहिरोका कारण सो क्षेत्रका झोलुङ्गे तथा साना पक्की पुलहरूमा समेत ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार प्राकृतिक विपत्तिपछि उक्त क्षेत्रमा टेलिफोन र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले क्षतिको यकिन विवरण र थप विवरण सङ्कलन गर्न उद्धार टोलीलाई निकै कठिनाइ भइरहेको छ।





