काठमाडाैं । बिहीबार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव शुक्रबार राति सवा १० बजेतिर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
मृतकका परिवार र सरकारबीच सहमति जुट्न नसकेपछि वीर अस्पतालबाट शव त्रिवि शिक्षण अस्पताल सारिएको हो किनभने वीर अस्पतालसँग लामो समयसम्म शव सुरक्षित राख्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) को सुविधा छैन।
शुक्रबार साँझ मृतकका बुवाआमा वीर अस्पताल आइपुगेर शनिबार मात्रै वार्ता गर्ने अडान लिएपछि पोस्टमार्टमको प्रक्रिया रोकिएको छ।
बिहीबार राहदानी विभाग नजिकै महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएर भ्यानमा हाल्न खोजेपछि आक्रोशित बनेका गणेशले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था अस्थिर भएकाले चिकित्सकको सल्लाहमा वीरमै राखिएको थियो, जहाँ शुक्रबार बिहान उनको मृत्यु भयो।
यस घटनाको विषयमा प्रहरीले तीन जना महानगर प्रहरीलाई सोधपुछ गरेर छाडेको छ। समग्र घटनाको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।





