अविरल वर्षाको कहर: कान्ति लोकपथ र बीपीसहित देशका पाँच मुख्य राजमार्ग ठप्प

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा जनजीवन प्रभावित बनाएको छ। लगातारको झरीले सडक सञ्जालमा गम्भीर असर पुर्‍याउँदा नेपालका पाँचवटा प्रमुख राजमार्गको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

पूर्वको मेचीदेखि पश्चिमको कर्णाली राजमार्गसम्म बाढी र पहिरोको चपेटामा परेकाले देशैभरको यातायात सेवा नराम्ररी प्रभावित बन्न पुगेको छ।

पूर्वी नेपालको इलाम नगरपालिका–९ स्थित राजदुपालीमा भारी वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सम्भावित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै मध्यपहाडी क्षेत्रलाई जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटेन्जेबसी खण्डमा पनि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। उता मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्‍याडाँडामा खसेको पहिरोले कान्ति लोकपथ सडकखण्डलाई पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

पश्चिम नेपालमा पनि पहिरोले सडक सञ्जाललाई नराम्ररी छिनेको छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको यात्रा रोकिएको छ।

यस्तै, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला र जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी गाउँपालिका–७ ताम्तीसम्मको सडकखण्ड पहिरोले पूर्ण रूपमा बन्द गरिदिएपछि यात्रुहरू मारमा परेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा