काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनुका साथै केही क्षेत्रमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूका साथै हिमाली र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत प्रक्षेपण गरिएको छ।
रातिको समयमा देशभर साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि चट्याङ्गसहित वर्षा र हिमपात हुनेछ। राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। यसका साथै कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले महाशाखाले बाढी, पहिरो र हावाहुरीको जोखिमप्रति सचेत रहन अपिल गरेको छ।




