काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भनी सामाजिक सञ्जाल तथा मिडियामा फैलाइएका आरोपहरूको कडा खण्डन गरेको छ। दूतावासले स्पष्टीकरण जारी गर्दै ती दाबीहरूलाई ‘भ्रामक र निराधार’ भनेको छ।
चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने आरोपको खण्डन गर्दै दूतावासले अगस्ट २६ (भदौ १०) को बिहान सीमावर्ती क्षेत्रमा भूकम्प वा हिमपहिरोजस्तै प्रकृतिको ठूलो प्राकृतिक विपद् आएको जनाएको छ। सोही घटनाका कारण केरुङ–रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको र त्यसबाट नेपालतर्फ मात्र नभई चीनतर्फ पनि उत्तिकै क्षति पुगेको र धेरै मानिस बेपत्ता भएको दूतावासले स्पष्ट पारेको छ।
विपद्को यस कठिन घडीमा मिथ्या आरोप लगाउनुभन्दा आपसी सहयोग र सहकार्यमा जोड दिनुपर्ने दूतावासको भनाइ छ। ‘आरोपले कसैलाई मद्दत गर्दैन, सहकार्यले मात्र मानिसको ज्यान बचाउन सकिन्छ,’ दूतावासले भनेको छ, ‘संकटको समयमा दुवै देश मिलेर उद्धार र राहत कार्यमा जुट्नुपर्छ।’





