मौसम अपडेट: आज बागमती, गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशभर साधारणतया बदली रही विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा तथा मधेश, कोशी र लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। मधेश, कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ।

आज राति पनि देशभर मौसम बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ। रातिको समयमा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। भारी वर्षा, मेघगर्जन, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात र कृषि क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा