काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज (शुक्रबार) वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
यसै अवसरमा आज छोराछोरीहरूले आ-आफ्ना बाबुलाई मनपर्ने मीठामीठा परिकार तथा भोजन गराई आदर सम्मान प्रकट गर्दै ‘बाबुको मुख हेर्ने’ गर्दछन्। ‘पितृदेवो भव’ भन्ने शास्त्रीय मान्यताअनुरूप जीवित पितालाई श्रद्धापूर्वक सेवा तथा सम्मान गरी आशीर्वाद लिने गरिन्छ भने पिता दिवङ्गत भइसकेकाहरूले काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर (उत्तरगया) लगायतका पवित्र तीर्थस्थलमा पुगेर तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने गर्छन्।
धार्मिक मान्यताअनुसार आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय परम्परा रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने भएकाले आजको दिन घरमा कुश राख्नुका साथै तीर्थमा गई दान तथा श्राद्ध गरेमा अक्षय फल प्राप्त हुने विश्वास गरिन्छ।




