५ जनाको परिवार घरमा राखेर रोजगारीका सिलसिलामा कतार गएका, माधवले गुमाए परिवार

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे। बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए।

बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ। सानैमा बुवाले छाडेर गए। त्यसमाथि आर्थिक स्थित निकै नाजुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले गाउँकै एकल वृद्धाको घर किनेका थिए।

५ जनाको परिवार त्यही घरमा राखेर रोजगारीका सिलसिलामा कतार गएका माधवको परिवारका कोही पनि बाँकी रहेनन्। हिजो (बिहीबार) राति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनले आमा, पत्नी, दुई छोरी र एक छोरा सबैलाई एकैरातमा गुमाए।

राति सवा २ बजेतिर गएको पहिरोमा घर पुरिँदा ७० वर्षीया आमा कौशिल्या, ३५ वर्षीया पत्नी भगवती, छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका साजै ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गुमाए।

‘बाबुले बनाएको पुरानो घर भत्किने डरले नयाँ घर किनेर परिवार त्यसमा राखी आफू कतार गएका हुन्, फर्किन नपाउँदै यता पहिरोले परिवार नै सखाप पारिदियो,’ वडाध्यक्ष तेजप्रसाद पाध्याले भने, ‘गाउँकै सोझो र निकै मिलनसार मान्छे हुन् उनी, उनैमाथि यति ठूलो बज्रपात भयो।’

तेजप्रसादका अनुसार ​त्यो घर पनि उनले २ वर्ष कतार बसेर कमाएको रकमले किनेको र अझै केही पैसा तिर्न बाँकी छ। घरको बाँकी तिर्न र परिवारको लालनपालनका लागि फेरि कतार गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा