क्यान्टिनमा बसेर चिया-समोसा खाँदैमा अध्यक्ष हट्दैन, अनुशासनहीनता सह्य हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिए।

अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा भनेका छन्। पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया-समोसा खाँदै अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु हास्यास्पद भएको टिप्पणी गरे।

‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ,’ ओलीले भने, ‘अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो।’

विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिंगो पार्टी एकजुट हुनुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने उनले बताए। अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमार्फत पार्टीको बदनामी गर्ने कार्य रोक्न निर्देशन दिए।

यसैगरी अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको दाबी गरे।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा