काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रशासन र सेवा क्षेत्रका महत्त्वपूर्ण बढुवासहित विभिन्न अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति प्रदान गरेको छ। त्यस्तै, भूमि, वन र विपद् व्यवस्थापनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
यसबाहेक, निजामती तथा सेवाका उच्च पदहरूमा बढुवा गर्ने निर्णयसमेत भएको छ। जसमा नेपाल इन्जिनियरिङ सेवाका सहसचिव नवीनराज सिंह, नेपाल प्रशासन सेवाका सहसचिव चक्रबहादुर बुढालाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ भने लेखापरीक्षण सेवातर्फ चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय भएको छ।





