काठमाडौँ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका राजमार्ग र मुख्य बजार क्षेत्रहरूलाई अत्याधुनिक सिसी क्यामेराको चौबीसै घण्टा निगरानीमा ल्याएको छ। महानगरपालिकाको ५ करोड ५८ लाख २० हजार रुपैयाँको लगानीमा २९ वटै वडा समेट्ने गरी नयाँ र पुराना गरी कुल ६२२ वटा सिसी क्यामेरा जडान गरिएको हो। सुरक्षित सहर निर्माणको अवधारणालाई मूर्तरूप दिँदै सञ्चालनमा ल्याइएको यो प्रणालीले नागरिकको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा अत्याधुनिक ‘इन्टिग्रेटेड कन्ट्रोल रुम’ स्थापना गरी नेपाल प्रहरीका तालिमप्राप्त टोलीमार्फत यसको प्रत्यक्ष निगरानी थालिएको छ। पूर्वपश्चिम राजमार्गको टिकौली, नारायणगढ–मुग्लिन सडकखण्ड, रामनगर, पुलचोक र रत्ननगरजस्ता संवेदनशील नाकाहरूमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली (ANPR) र गति मापन (Speed Detection) क्यामेरा जडान गरिएका छन्। साथै, आवश्यकता अनुसार ३६० डिग्री घुम्ने र जुम गर्न मिल्ने प्रविधि जडानले सुरक्षा व्यवस्थालाई थप बलियो बनाएको छ।
यस अत्याधुनिक प्रविधिको प्रयोगबाट ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आउने, सडक दुर्घटना न्यूनीकरण हुने, आपराधिक गतिविधि नियन्त्रण तथा समग्र शान्ति सुरक्षा कायम गर्न ठूलो सहयोग पुग्ने महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले बताएका छन्। स्मार्ट सहरको रूपमा परिचित हुँदै गएको भरतपुरमा यो प्रणाली जडान भएपछि आपराधिक मनोवृत्ति भएका व्यक्तिहरू निरुत्साहित हुने अपेक्षा गरिएको छ।





