काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार साँझ साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना कार्य औपचारिक रूपमा अघि बढाइएको हो। मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरी उनीहरूकै रोहवरमा मतपेटिका खोलेको थियो।
निर्वाचन समितिका अनुसार मतगणना कार्यलाई छिटो र व्यवस्थित बनाउन तीन अलग–अलग स्थानमा एकसाथ उपसभापति र महामन्त्रीको मत गणना भइरहेको छ। मतगणना स्थलमा पूर्ण रूपमा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने प्रत्येक मतगणना स्थलमा हरेक उम्मेदवारका एक–एक जना प्रतिनिधि (एजेन्ट) राख्ने सहमति भएको छ।
यसअघि सम्पन्न सभापति पदको मतगणनामा गगनकुमार थापा भारी मतान्तरसहित निर्वाचित भइसकेका छन्। सभापतिको नतिजा सार्वजनिक भएसँगै अन्य पदाधिकारीहरूको मतगणना सुरु गरिएको हो।





